गृह » वेबसाईट » दैनिकी लेख्‍ने हैन त?

दैनिकी लेख्‍ने हैन त?

के तपाई दैनिकी लेख्ने गर्नुहुन्छ? लेख्नुहुन्छ भने के तपाई डायरीमा लेख्नुहुन्छ वा कम्प्युटरमा? डायरीमा लेख्नुहुन्छ भने कतिवटा डायरीमा लेखिसक्नु भयो? सबभन्दा पहिलो डायरी अझै पनि तपाईसँग छ त? छ भने कत्तिको सुरक्षित छ? किनभने त्यसमा दैनिकी लेख्ने क्रममा कतिपय नितान्त व्यक्तिगत कुराहरु पनि लेख्नु भएको होला। यदि ती डायरी कसैको हातमा परयो भने? अथवा कतै हरायो भने? त्यत्रो दु:खले लेखेको दैनिकी, पक्कै पनि तपाईलाई रुन मन लाग्ला नि?

त्यस्तै यदि तपाई आफ्नो दैनिकी कम्प्युटरमा लेख्नुहुन्छ भने कुन सफ्टवेयर प्रयोग गर्नुहुन्छ? के त्यो सफ्टवेयर सबै संचालन प्रणालीहरुमा चलाउन मिल्छ? कि सिधै माइक्रोसफ्ट वर्डमा लेख्ने गर्नुभएको छ? जसरी जेमा लेखे पनि कम्प्युटरमा भएका तपाईका ती दैनिकीहरुलाई क्रमागत रुपमा पढ्न मिल्छ? तपाईले गत हप्ता शुक्रबार के लेख्नुभएको थियो? पोहोर साल आजकै दिन दैनिकीमा के लेख्नुभएको थियो? यस्ता कुरा कति सजिलै हेर्न सक्नुहुन्छ? फेरि तपाईको कम्प्युटरमा भएका तपाईका दैनिकीहरु कत्तिको सुरक्षित छन्? अरु कसैले तपाईको कम्प्युटर चलाउँदा पढिदिने पो हुन् कि? अथवा तपाईको कम्प्युटरको हार्डडिस्क नै बिग्रियो भने के गर्ने? बेलाबखत पेनड्राईभ, सिडि आदिमा व्याकअप गर्ने गर्नुभएको छ? अनि ती व्याकअपहरु पनि कति सुरक्षित छन् त। ती पनि खराव व्यक्तिको हात लाग्न सक्छन्। अथवा ती पनि बिग्रन सक्छन् नि त।

यदि तपाई दैनिकी नै लेख्नुहुन्न भने त समस्यै भएन। तर लेख्नेहरुको लागि त माथिका कुराहरु समस्यै जस्तै त हुन् नि। दैनिकी नलेख्नेहरुलाई पनि मेरो सुझाव, तपाई आजैदेखि दैनिकी लेख्न सुरु गर्नुहोस्। लेख्न सुरु गर्दा माथि भनिएका झमेला, अवश्य आइपर्न सक्छन्। त्यसैले तपाईहरु सबैलाई म आफूले प्रयोग गर्दै आएको दैनिकी लेख्ने एउटा वेबसाईटको बारेमा छोटो जानकारी दिन चाहन्छु।

त्यो हो 280daily.com जहाँ तपाईले नि:शुल्क र सशुल्क खाता खोल्न सक्नुहुनेछ। यी दुईमा खासै अन्तर नभए पनि एउटा मुख्य फरक भनेको टाईप गर्न मिल्ने जम्मा अक्षर सङ्ख्या हो। नि:शुल्क खातावालाले आफ्नो हरेक दिनको दैनिकीलाई २८० अक्षरमा नबढाई लेख्नुपर्ने हुन्छ भने त्यहीं सशुल्क खातावालालाई त्यो प्रतिबन्ध लागू हुने छैन अर्थात उनीहरुले असिमीत अक्षर लेख्न पाउनेछन्। तर। तर नि:शुल्क खातावालासँग आफ्नो २८० अक्षरलाई बढाउने दुई प्रमुख विकल्पहरु छन्। पहिलो – साथीहरुलाई 280daily को बारेमा सिफारिस गर्ने र यदि उनीहरुले पनि नि:शुल्क खाता खोलेमा प्रति महिना प्रति साथी तपाईले थप २५० अक्षर प्राप्त गर्नुहुनेछ। दोस्रो पनि प्रक्रिया सिफारिस गर्ने नै हो तर यदि साथीले सशुल्क खाता खोले भने तपाईले स्वत: सशुल्क खाताको सेवामा बढोत्तरी पाउनुहुनेछ।

हुन त एउटा पुरै दिनको दैनिकी २८० अक्षरमा लेख्न के नै सम्भव होला र? तर जसरी ट्वीटरको मज्जा १४० अक्षरमा छ, त्यसैगरी 280daily को विशेषता पनि २८० अक्षरको सिमीततामा छ। पुरै दिनको घटनाक्रमहरुलाई २८० अक्षरमा लेख्नु पनि एउटा सिप हो। यही सिपको विकास गर्न यसले तपाईलाई मद्दत गर्नेछ। मेरो व्यक्तिगत अनुभवमा पनि यसो गर्न सम्भव छ। कहिलेकाहीं अलिक धेरै घटनाक्रम भईहाले पनि त्यसलाई तपाईले साथीहरुलाई सिफारिस गरेवापत प्राप्त हुने थप अक्षरद्वारा पूर्ति गर्न सक्नुहुन्छ। अझ भनौं तपाई यस मामिलामा अलि गम्भीर नै हुनुहुन्छ भने तपाईले सशुल्क खाता पनि लिन सक्नु हुन्छ।

280daily को अन्य विशेषताहरु भनेको यसमा तपाईले लेख्नुभएको कुराहरु नितान्त गोप्य र सुरक्षित रहनेछन्। तपाईको दैनिकी तपाई बाहेक अरु कसैले पनि हेर्न सक्ने छैनन्। किनभने हरेक इन्ट्रीलाई इन्क्रिप्ट गरिएको हुन्छ। तपाईले पनि आफ्नो पासवर्ड भुल्नुभयो भने अर्को विकल्प छैन। त्यसैगरी 280daily मा भएका तपाईका दैनिकीहरुलाई तपाईले कुनै पनि बेला PDF फाइलको रुपमा डाउनलोड गर्न सक्नुहुनेछ। त्यसबाहेक तपाईले आफ्नो सम्पूर्ण दैनिकीहरुको बारेमा विभिन्न विश्लेषणात्मक तथ्याङ्कहरु र त्यस सम्बन्धी रिपोर्ट पनि हेर्न सक्नुहुनेछ।

280daily बाहेक दैनिकी लेख्नलाई अरु पनि थुप्रै वेबसाइटहरु छन्। तीमध्ये केही हुन् – 750words.com, penzu.com। 750words ले तपाईलाई हरेक दिन ७५० शब्दसम्म कुनै पनि विषयमा लेख्न प्रोत्साहित गर्छ। यसमा दैनिकी नै लेख्नुपर्छ भन्ने छैन। त्यस्तै penzu.com पनि दैनिकी लेख्नलाई राम्रै छ तर यसको मुख्य दुईवटा कमजोरी छन्। पहिलो, बितेको दिनको लागि लेख्न सकिंदैन र दोस्रो आफ्नो दैनिकीहरुलाई PDF मा डाउनलोड गर्ने सुविधा सशुल्क सेवामा मात्रै उपलब्ध छ। मेरो व्यक्तिगत रोजाइ चाहिं 280daily नै हो। तपाई आफ्नो आवश्यकता बमोजिम कुनै एक प्रयोग गर्न सक्नुहुन्छ। तर दैनिकी लेख्ने बानी अवश्य बसाउनुहोला।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )